कोशी प्रदेशका मन्त्रीलाई प्रश्न : ‘फोकटको सल्लाह’दिने सचिवलाई रसुवा सरुवा गर्दा तपाईं किन आक्रोशित ?
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै फेसबुकमा ‘फोकटको सल्लाह’ दिए । यसको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापनकै कमाण्ड सम्हाल्न काज सरुवा गरिदियो ।
यसै विषयमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेपले आक्रोश व्यक्त गरेका छन् । मन्त्री लिङ्थेपसँग संघीय सरकारले अनुभवीलाई जिम्मेवारी दिँदा किन रिसाउनुभएको भन्ने विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
कोशी प्रदेशका आर्थिक मामिला सचिव कोशहरि निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्रमा काज सरुवा गरियो, यस विषयमा तपाईंले आक्रोश व्यक्त गर्नुभयो किन ?
– यो सरुवा स्वाभाविक प्रक्रियाजस्तो देखिए पनि यसको भित्री मनसाय अलि फरक छ । भोटेकोशीको विपदमा सबैले सहयोग गर्नुपर्छ, यसमा दुई मत छैन । तर, नेपाल सरकारको सहसचिव तहको एउटा अनुभवी कर्मचारीले फेसबुकमा एउटा सानो मानवीय धारणा राख्यो भन्दैमा जुन ढंगले हतोत्साहित गर्ने गरी पत्र काटियो, यो उपर्युक्त बाटो होइन ।
उहाँलाई त अनुभवी भएको भनेर त्यहाँ जिम्मेवारी दिइएको हो नि । फेसबुकमा दिनुभएको ‘फोकटको सल्लाह’ कै कारण यो सरुवा भएको हो र ?
– स्पष्ट छ नि ! उहाँले कोभिडकालको अनुभव सुनाउँदै लासको पनि अधिकार हुन्छ, संस्कार अनुसार सदगत् गर्न पाउनुपर्छ, त्यसका लागि फ्रिज वा मर्चरीको व्यवस्था गर्नुपर्छ भन्नुभएको थियो । यो त एउटा सकारात्मक र मानवीय कुरा हो । तर, संघीय सरकारले यसलाई ‘इगो’ बनायो र ‘तँलाई धेरै आउँछ भने जा आफैँ व्यवस्थापन गर’ भन्ने शैलीमा प्रतिशोध साँधियो । एउटा सह–सचिवलाई स्रोत–साधन र टिमबिना ‘जा त्यहाँ गएर लास व्यवस्थापन गर’ भनेर एक्लै पठाउनुभनेको त हरुवा चरुवालाई गरेजस्तो व्यवहार भयो नि ।
उहाँलाई रसुवा पठाउँदा कसरी पठाउनुपर्थ्यो त ? अनुभवीलाई संघीय सरकारले जिम्मेवारी नै दिन नपाउने हो र ?
– संघीय सरकारले क्याबिनेटबाट निर्णय गरेर, एउटा अनुभवी टिम बनाएर, आवश्यक बजेट र स्रोत–साधनसहित पठाउनुपर्ने हो । तर यहाँ त उहाँलाई एक्लै पठाइएको छ । एउटा व्यक्तिले मात्र यति ठुलो विपदमा कसरी काम गर्न सक्छ ? यो त निर्णय गर्ने अधिकारसहितको टिम पठाउनुपर्ने ठाउँमा केवल कर्मचारीलाई दुःख दिने नियत देखियो ।
तर सचिवले पनि त पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा लेख्नु ठिक थिएन कि ?
– उहाँले लेखेको कुरामा त्यस्तो के नकारात्मक छ र ? उहाँले त लासलाई अन्याय नगरौँ, डीएनए परीक्षण गरौँ, आफन्तले चिन्न सक्ने वातावरण बनाऔँ भन्नुभएको हो । हाम्रो संस्कारमा त लुगाफाटो वा गहना भेटिए पनि ‘कुश’ राखेर दाहसंस्कार गर्ने चलन छ । उहाँले यही मानवीय संवेदनाको कुरा गर्नुभएको हो । फरक–फरक मान्छेको बुझाइ फरक होला, तर उहाँको आशय पीडित परिवारको भावनामा चोट नपुगोस् भन्ने नै थियो ।
सचिव निरौलाले रसुवा पठाइएको विषयमा तपाईंसँग के भन्नुभयो ? उहाँ कहिलो जानुहुन्छ ?
– उहाँ राष्ट्रसेवक कर्मचारी हो, सरकारको निर्णय भएपछि जानु त परिहाल्छ । उहाँ भोलि (मंगलबार) तिर निस्कने कुरा छ । तर अचम्मको कुरा के छ भने, उहाँलाई संघले रसुवा खटाएको छ तर तलबचाहिँ कोशी प्रदेशकै मन्त्रालयले खुवाउनुपर्ने रे ! यो कस्तो खालको प्रशासनिक निर्णय हो ? उहाँलाई के के काम गर्ने कसरी गर्ने, अधिकार के हुने भन्ने कुनै टीओआर पनि दिइएको छैन ।
