रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका कार्यबारे छलफल भएको थियो।
त्यसैगरी, बाढी प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा पनि कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज उपलब्धता तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिए।
