बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली
1 min read

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि पार्टीले कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाएर सहयोग गर्ने बताएका छन्। सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट प्राप्त राहत सामग्री तथा सहयोग बुझ्दै अध्यक्ष ओलीले उक्त रकम संकलन गरी पीडितका लागि खर्च गर्ने बताएका हुन्। ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ। सबै मिलाएर १ करोड २० लाख रुपैयाँ संकलन गर्छौं,’ अध्यक्ष ओलीले भने, ‘पार्टीको केन्द्रीय कोषबाट कम्तीमा त्यति रकम खर्च गर्छौं।’

तर उक्त रकम पार्टी आफैंले बाढीपीडितसम्म पुर्‍याउने वा सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने भन्ने विषयमा अझै निर्णय भइनसकेको उनले बताए। ‘सरकारलाई बुझाएपछि रकम कोषमै रहन्छ। यता पीडितहरू पानीसमेत खान नपाएर समस्यामा छन्। त्यसैले हाम्रो अगाडि गम्भीर प्रश्न छ– राहत साँच्चिकै पीडितसम्म पुर्‍याउने कि सरकारको कोषमा रकम देखाउने ?’ उनले भने।

सरकारको राहत कोषमा रकम जम्मा नगरे एमालेले सहयोग नगरेको भन्ने गलत धारणा फैलिन सक्ने अवस्था रहेको पनि ओलीले बताए। ‘सरकारको कोषमा रकम देखिएन भने अरूले कोषमा पठाए, एमालेले पठाएन भन्ने चर्चा हुन सक्छ,’ उनले भने। अध्यक्ष ओलीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषलाई बलियो बनाउन मात्र रकम जम्मा गर्नु आवश्यक नभएको उल्लेख गर्दै उक्त कोष पनि विपद् प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको बताए।

उनले राहत वास्तविक पीडितसम्म छिटो र प्रभावकारी रूपमा पुर्‍याउने माध्यम रोजिने स्पष्ट पारे। ‘पीडितकहाँ कुन माध्यमबाट छिटो, छरितो र प्रभावकारी ढंगले राहत पुर्‍याउन सकिन्छ, हामी त्यही माध्यमबाट सहयोग पुर्‍याउँछौं,’ उनले भने। एमालेले विपद्का बेला उद्धार तथा राहतका लागि आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने ओलीले बताए। उनले विपत्तिको समयमा अन्य व्यक्ति तथा संस्थालाई पनि खुलेर सहयोग गर्न आग्रह गरे। विपद् व्यवस्थापनका क्रममा एमाले सरकारसँग समन्वय गरेर अघि बढ्न इच्छुक रहेको पनि अध्यक्ष ओलीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *