नेपालको पहिलो एक्स–प्रेस डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा
काठमाडौं । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपालकै पहिलो एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने भएको छ । नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचाभन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको दाबी गरिएको यो शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सिर्जनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई समेत केन्द्रमा राखेर शोको स्वरूप तयार गरिएको छ ।
‘डान्स, ड्रीम, शाइन’ भन्ने नारासहित निर्माण गरिएको ‘लिटल डान्सिङ च्याम्प’ को पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’ मा केन्द्रित हुनेछ । आज भदौ २७ गते र भोलि भदौ २८ गते राति ९ बजे दुई एपिसोड प्रसारण हुनेछन् । पहिलो चरणमा ५० जना बाल नृत्य प्रतिभाले एउटै मञ्चमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन् । उनीहरूले आफ्नो रुचि, शैली र पहिचानअनुसारको प्रस्तुति दिनेछन् । प्रस्तुतिको मूल्यांकन निर्णायक मण्डलले गर्नेछ ।
यस राउन्डका लागि केशव थापा, बबिता पोखरेल र सरोज प्रजा निर्णायकको भूमिकामा छन् । कार्यक्रमको होस्टमा त्रिदेवी श्रेष्ठ छन् भने भ्वाइसमा रोजिन शाक्य रहेका छन् । ‘लिटल डान्सिङ च्याम्प’ लाई नेपालमा देखिँदै आएका सामान्य डान्स रियालिटी शोको ढाँचाभन्दा फरक बनाउने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ । एक्स–प्रेस फर्म्याटमा अगाडि बढ्ने शोमा प्रतियोगितालाई केवल नृत्य प्रस्तुतिमा सीमित नराखी विभिन्न चरण, चुनौती, मूल्यांकन र दर्शक सहभागितामार्फत बाल प्रतिभालाई अगाडि बढाउने अवधारणा राखिएको छ ।
५० जना बाल प्रतिभाबाट सुरु हुने यो यात्रामा उनीहरूले विभिन्न चरण पार गर्दै ‘लिटल डान्सिङ च्याम्प’ को उपाधितर्फ यात्रा गर्नेछन् । शोमा निर्णायकको मूल्यांकनसँगै दर्शकको सहभागितालाई पनि महत्वपूर्ण स्थान दिइएको छ ।
कार्यक्रम ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजनामा र जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा निर्माण भएको हो । जिनो स्टुडियोज, पेप्सीकोला स्टुडियो पार्टनर तथा zeenoPay भोटिङ पार्टनरका रूपमा जोडिएका छन् । कार्यक्रमको निर्माण त्रिदेवी श्रेष्ठले गरेकी छन् भने निर्देशन शानु खानले गरेका छन् । सहायक निर्देशकमा प्रमित बख्रेल रहेका छन् । व्यवस्थापनतर्फ स्वीकृति ढकाल, मनिषा बीके, सनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन् ।
‘लिटल डान्सिङ च्याम्प’ को पहिलो र दोस्रो एपिसोड आज र भोलि राति ९ बजे कस्ठमण्डप गोल्ड एचडीमा प्रसारण हुनेछ । साथै Highlights Nepal मार्फत पनि कार्यक्रम हेर्न सकिनेछ । नेपालको टेलिभिजन रियालिटी शोको क्षेत्रमा बाल नृत्य प्रतिभालाई केन्द्रमा राखेर नयाँ शैलीको एक्स–प्रेस फर्म्याट प्रस्तुत गर्ने उद्देश्यसहित सुरु भएको ‘लिटल डान्सिङ च्याम्प’ले कस्तो प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ ।
