बाढीपीडितको उपचारमा जुटे सरिशा र त्रिशला
काठमाडौं । पूर्व मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायिका त्रिशला गुरुङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेका छन्। उनीहरूले पीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा चिकित्सकीय सामग्री पनि वितरण गरेका छन्। सरिशा र त्रिशला दुवै स्वास्थ्य क्षेत्रसँग आबद्ध छन्। सरिशा एमबीबीएस तथा एमपीएच अध्ययनरत छिन् भने त्रिशला एमबीबीएस डाक्टर हुन्।
उनीहरूको टोलीले नुवाकोटको बेलकोटगढी क्षेत्रमा करिब ३०० जना बाढी प्रभावितको स्वास्थ्य परीक्षण गरेको जनाएको छ। सरिशाका अनुसार त्यहाँ रहेका चार वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितको स्वास्थ्य अवस्था पनि जाँच गरिएको थियो। ती केन्द्रहरूमा करिब ३५ विस्थापित परिवार बसोबास गरिरहेका छन्। सरिशासँग आठ जना चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। त्यसैगरी, गेर्खुटार र बट्टार क्षेत्रमा १५ जना स्वास्थ्यकर्मी सम्मिलित टोलीले पनि स्वास्थ्य सेवा प्रदान गरेको थियो।
स्वास्थ्य परीक्षणसँगै महिला तथा बालबालिकालाई स्यानिटरी प्याड, स्यानिटरी गार्मेन्ट, सर्वोत्तम लिटो, हाइजिन किट, टुथपेस्ट, जीवनजल, साबुनलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ। बाढीका कारण धेरै व्यक्तिले नियमित सेवन गर्ने औषधिसमेत गुमाएकाले त्यस्ता औषधिको व्यवस्था गरेर वितरण गरिएको सरिशाले जानकारी दिइन्। उनका अनुसार निकट भविष्यमा रसुवाको तुप्चे, ढुंगे तथा अन्य प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ। ‘बाढीपछि पुनर्स्थापना र पुनर्निर्माणका काम मात्रै होइन, नियमित स्वास्थ्य सेवा पनि आवश्यक देखिएको छ। हामीले मानसिक तनाव र एन्जाइटीका धेरै केसहरू पनि देख्यौं,’ सरिशाले भनिन्।
