टुपाक हत्याकाण्डमा नयाँ मोड : तीन दशकपछि मुख्य योजनाकार दोषी प्रमाणित
1 min read

टुपाक हत्याकाण्डमा नयाँ मोड : तीन दशकपछि मुख्य योजनाकार दोषी प्रमाणित

घटना भएको झण्डै तीन दशकपछि अमेरिकी र्‍यापर टुपाक शुकुरको हत्या प्रकरणमा अदालतले पहिलो पटक दोषी ठहरको फैसला सुनाएको छ। अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले पूर्व ग्याङ नेता ड्वेन ‘केफी डी’ डेभिसलाई टुपाक हत्याको मुख्य योजनाकारका रूपमा दोषी ठहर गरेको हो। टुपाकको हत्या लामो समयसम्म रहस्यमय घटनाका रूपमा रहँदै आएको थियो। घटनापछि ३० वर्ष बितिसक्दा पनि मुद्दा निष्कर्षमा पुग्न सकेको थिएन। अदालतको पछिल्लो निर्णयलाई यो चर्चित प्रकरणको पहिलो दोषसिद्धि मानिएको छ।

सन् १९९६ सेप्टेम्बर ७ मा लास भेगासमा गुडिरहेको गाडीमाथि भएको गोली प्रहारमा टुपाक गम्भीर घाइते भएका थिए। सोही घटनामा डेभिसलाई घातक हतियार प्रयोग गरी हत्या गराएको अभियोगमा दोषी ठहर गरिएको हो।

टुपाक शुकुर को थिए ?

टुपाक अमारु शुकुर, जसलाई ‘टुपाक’ वा ‘२प्याक’ नामले चिनिन्थ्यो, अमेरिकी हिप–हप संगीतका सबैभन्दा प्रभावशाली कलाकारमध्ये एक मानिन्छन्। क्यालिफोर्नियामा हुर्किएका उनले १९९० को दशकमा र्‍याप संगीतको दुनियाँमा असाधारण लोकप्रियता हासिल गरेका थिए। उनका धेरै एल्बमहरू बिलबोर्ड चार्टको शीर्ष स्थानमा पुगेका थिए। निधनपछि पनि उनको संगीतप्रतिको आकर्षण कायमै रह्यो र उनी र्‍याप संस्कृतिका एक प्रतीकात्मक व्यक्तित्वका रूपमा स्थापित भए। टुपाकका गीतहरूले सडक हिंसा, ग्याङ जीवन, एकल मातृत्व, प्रेम, सामाजिक असमानता, नागरिक अधिकार, जातीय विभेद तथा प्रहरी हिंसाजस्ता विषय उठाउँथे। व्यक्तिगत अनुभव र सामाजिक यथार्थलाई संगीतमार्फत अभिव्यक्त गर्ने कलाकारका रूपमा उनी चिनिन्थे।

त्यतिबेला उनी डेथ रो रेकर्ड्ससँग आबद्ध थिए। सोही समयमा ईस्ट कोस्टका चर्चित र्‍यापर द नटोरियस बी.आई.जी.सँग उनको प्रतिस्पर्धा चर्किएको थियो। दुवै कलाकारले एकअर्कालाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने गरेका थिए। यही प्रतिस्पर्धा र ग्याङ सम्बन्धलाई टुपाक हत्याको सम्भावित कारणका रूपमा हेरिने गरिएको छ। टुपाकमाथि मृत्यु हुनुअघि पनि एक पटक गोली प्रहार भएको थियो, जसबाट उनी बाँच्न सफल भएका थिए। त्यसको केही समयपछि लास भेगासमा फेरि भएको आक्रमणमा उनी गम्भीर घाइते भए। घटनाको ६ दिनपछि, २५ वर्षको उमेरमा, उनको निधन भएको थियो।

कसरी भयो आक्रमण ?

सन् १९९६ सेप्टेम्बर ७ मा गोली प्रहार हुनुभन्दा केही घण्टाअघि टुपाक डेथ रो रेकर्ड्सका संस्थापक मारियन ‘सुग’ नाइटसँग माइक टाइसनको बक्सिङ खेल हेर्न पुगेका थिए। खेलपछि एमजीएम ग्रान्ड परिसरमा अर्को समूहसँग उनीहरूको विवाद भएको थियो। उक्त समूहमा डेभिसका भतिजा ओर्लान्डो ‘बेबी लेन’ एन्डरसन पनि रहेको बताइएको छ।

त्यसको केही समयपछि टुपाक र नाइट एक कार्यक्रमका लागि क्लबतर्फ जाँदै थिए। सोही क्रममा सेतो क्याडिलाक गाडीबाट उनीहरूमाथि गोली प्रहार गरिएको थियो। टुपाकलाई पटक–पटक गोली लागेको थियो भने नाइट सामान्य घाइते भएका थिए। अनुसन्धान अधिकारीहरूका अनुसार प्रतिवादी डेभिस घटनास्थलमा रहेको क्याडिलाकमा सवार चार व्यक्तिमध्ये एक थिए। घटनासँग जोडिएका डेभिसका भतिजा एन्डरसनसहित अन्य तीन जनाको पछिल्ला वर्षहरूमा मृत्यु भइसकेको छ। यद्यपि, हत्यामा प्रयोग भएको बन्दुक र सवारी साधन भने अहिलेसम्म फेला परेका छैनन्।

को हुन् ड्वेन ‘केफी डी’ डेभिस ?

डेभिस साउथ साइड कम्पटन क्रिप्स नामक गिरोहका पूर्व नेता हुन्। उक्त गिरोहको मब पिरु समूहसँग पुरानो शत्रुता रहेको बताइन्छ। टुपाक र सुग नाइट मब पिरुसँग निकट रहेको मानिन्थ्यो। सन् २०२३ नोभेम्बरमा अदालतमा उपस्थित हुँदा डेभिसले आफू निर्दोष रहेको दाबी गरेका थिए। तर पछिल्लो सुनुवाइमा अदालतले उनका आफ्नै सार्वजनिक अभिव्यक्ति, अन्तर्वार्ता तथा लिखित विवरणलाई महत्वपूर्ण प्रमाणका रूपमा स्वीकार गर्दै उनलाई टुपाक हत्याको योजनाकार ठहर गरेको हो। प्रहरीले डेभिसलाई सन् २०२३ सेप्टेम्बरमा लास भेगासस्थित उनको निवास नजिकैबाट पक्राउ गरेको थियो। पक्राउपछि उनले धरौटी नपाएकाले हालसम्म हिरासतमै रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *