बाढीपीडितको सहयोगका लागि ‘एलिफेन्ट्स इन द फग’ को च्यारिटी शो
काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपाली सिनेमामा फरक विषयवस्तु प्रस्तुत गर्ने प्रयास गरेको छ। फिल्मको शीर्षकमा ‘हात्ती’ शब्द भए पनि यो प्रत्यक्ष रूपमा हात्तीको जीवनकथामा आधारित भने होइन। बरु, कथाभित्र हात्तीलाई एक प्रतीकात्मक विम्बका रूपमा प्रयोग गरिएको छ, जसको सम्बन्ध मुख्य पात्रको जीवनयात्रासँग गाँसिएको छ। निर्माता अनुप पौडेलका अनुसार फिल्ममा हात्ती केवल एउटा जनावर वा पात्रका रूपमा सीमित छैन, यसले गहिरो सामाजिक अर्थ बोकेको छ। ‘हात्ती हाम्रो लागि एउटा ठूलो विम्ब हो। यसले सीमान्तकृत समुदाय र समाजले उनीहरूमाथि लगाएका अदृश्य सीमाहरूको पनि प्रतिनिधित्व गर्छ,’ उनले भने।
उनका अनुसार समाजमा हात्तीलाई सम्मान र पूजाको दृष्टिले हेर्ने गरिए पनि व्यवहारमा उसलाई निश्चित घेराभित्र सीमित गरिन्छ। यही अवस्थालाई फिल्मले प्रतीकात्मक रूपमा प्रस्तुत गर्न खोजेको उनले बताए। ‘हामी हात्तीलाई सम्मान गर्छौं, तर उसलाई जंगलको निश्चित दायराभित्रै बाँधेर राख्छौं। मानिसले प्रकृति, महिला वा सीमान्तकृत समुदायमाथि लगाएका विभिन्न प्रकारका सीमासँग पनि यो विम्ब जोडिएको छ,’ पौडेलले भने।
फिल्मको ट्रेलर सार्वजनिक भइसके पनि त्यसमा हात्तीलाई नदेखाइएको विषयले दर्शकमाझ चासो बढाएको छ। यसबारे निर्माता पौडेल भन्छन्, ‘ट्रेलरमा हात्ती नदेखाइनु हाम्रो सचेत निर्णय हो। ट्रेलरमार्फत फिल्मको सम्पूर्ण रहस्य खुलाउन चाहेनौं। हात्तीको उपस्थिति कथा र त्यसले दिने अनुभवसँग जोडिएको छ, जसलाई दर्शकले फिल्म हेरेपछि अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ।’ उनका अनुसार ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले हात्तीलाई माध्यम बनाएर समाज, शक्ति, नियन्त्रण र सीमान्तीकरणजस्ता विषयलाई प्रतीकात्मक ढंगले उठाउने प्रयास गरेको छ।
