‘ब्युटी विथ पर्पस’मा नेपाल एसियाबाट मिस वर्ल्डको फाइनलमा
काठमाडौं । भियतनाममा भइरहेको मिस वर्ल्ड प्रतियोगिताको चर्चित विधा ‘ब्यूटी विथ पर्पस’मा नेपाल एसिया तथा ओसियाना क्षेत्रको फाइनलिस्ट बनेको छ। एसिया क्षेत्रबाट फाइनलमा पुग्ने प्रतियोगीमा नेपालकी लुना लुइँटेलसँगै बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र आयोजक भियतनामका प्रतिनिधि पनि छन्। सामाजिक सेवासँग जोडिएका परियोजना प्रस्तुत गरिने ‘ब्यूटी विथ पर्पस’ विधामा नेपाल यसअघिका संस्करणदेखि नै बलियो दाबेदारका रूपमा रहँदै आएको छ। यसपटक मिस नेपाल लुनाले पर्वतको फलेवासमा सञ्चालित ‘दुना टपरी’ परियोजनालाई आफ्नो प्रस्तुति बनाएकी छन्।
अब उक्त विधाको विजेता बन्न नेपालले पहिले एसिया तथा ओसियाना समूहमा रहेका अन्य फाइनलिस्टलाई पछि पार्दै क्षेत्रीय विजेता बन्नुपर्नेछ। त्यसपछि अन्य महादेशबाट छनोट भएका विजेताबीच प्रतिस्पर्धा हुनेछ र अन्तिम विजेता तय गरिनेछ। नेपालले यसअघि पनि ‘ब्यूटी विथ पर्पस’ विधामा सफलता हासिल गरिसकेको कारण यसपटक पनि लुनालाई बलियो दाबेदारका रूपमा हेरिएको छ।
