प्रभावित जलविद्युत् परियोजनामा खोजी तथा उद्धार प्रयास तीव्र
उनीहरूको जीवितै उद्धार गरिएपनि सुरुङमा एउटा शव फेला परेको छ । आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका हो ।
त्रिशूली–३ ‘ए’ मा ढुंगा फुटाउँदै सुरुङ सफा गर्ने काम
नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी उद्धारको कार्य भइरहेको छ । आज नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको टोली थप व्यक्तिको खोजीका लागि पावर हाउसतर्फ प्रवेश गरेको छ ।
टोलीले पाँचवटा एस्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरेर सुरुङको आउटलेटमा भरिएको लेदो, ढुंगा र बालुवा हटाउँदै करिब ३० मिटरभित्र प्रवेश गरेको थियो ।
सुरुङभित्र ठूलो ढुंगा भेटिएपछि त्यसलाई ब्लास्टिङ गरी बाटो खुलाउने र सुरुङ सफा गर्ने काम भइरहेको छ । यसअघि पनि सेनाको टोलीले सुरुङमा जमेको पानी, माटो तथा ढुंगा हटाउँदै भित्र पस्ने बाटो बनाएको थियो ।
दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै जोखिमपूर्ण छ । बाढीले ल्याएको लेदो, ढुंगा र बालुवाका कारण सुरुङका कतिपय भागमा मेसिन तथा उद्धार टोली पुर्याउनै कठिन भइरहेको छ । त्रिशुली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहिन रहेकोमा २ जनाको जीवितै उद्धार गरिएको छ भने १ जनाको शव फेला परेको छ । अब ३९ जना सम्पर्कविहिन छन् ।
त्रिशूली–३ ‘बी’ मा ठूलो मेसिन पुर्याउनै चुनौती
निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा भने मुख्य चुनौती उद्धार टोलीलाई घटनास्थलसम्म पुर्याउने उपकरण र बाटो व्यवस्थापन बनेको छ । नेपाली सेनाका ८९ जना, तीन गैर सैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान गरेको छ । तर ती संरचनासम्म पुग्ने बाटो बाढीले तहसनहस पारेकाले एस्काभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पन्छाउने काम भइरहेको छ ।
आयोजनाकी उपनिर्देशक लिला अर्यालका अनुसार अहिले तीन वटा एस्काभेटरबाट लगातार खन्ने काम भइरहेको छ । तर साना एस्काभेटरले अपेक्षित गतिमा काम गर्न नसक्ने अवस्था छ ।
ठूलो एस्काभेटर घटनास्थलसम्म पुर्याउन डाँडा काट्ने काम भइरहेको छ । त्यसबाट पनि सम्भव नभए ठूलो एस्काभेटरलाई केही साना पार्टमा विभाजन गरी घटनास्थलसम्म पुर्याएर पुनः जोड्ने विकल्पमा समेत छलफल भइरहेको छ ।
‘ठूलो एस्काभेटर जसरी हुन्छ पुर्याउन सकियो भने मात्रै कामको परिणाम देखिने अवस्था छ,’ आयोजनाको भनाइ छ । यसअघि पनि त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एस्काभेटर पुर्याएर उद्धार तथा पहुँच मार्ग निर्माणको प्रयास गरिएको थियो । त्रिशूली–३ ‘बी’ मा १९१ जना सम्पर्कविहीन छन् । जसमा फेवा कन्स्ट्रक्सनका १४१ जना, त्रिशूली जलविद्युत कम्पनीका २१ जना, कर्मचारी परिवार ७ जना, चेस्का इन्जिनियरिङ (परामर्शदाता)का १२ जना, सुरक्षा गार्ड १ जना र काठमाडौं विश्वविद्यालयबाट इन्र्टनसिप गर्न गएका ३ जना विद्यार्थी रहेका छन् । सुरुङमा काम गरिरहेका २३ जना सुरुङभित्र धेरै हिलो तथा लेदो नपस्दा सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।
लाङटाङमा दुई शव भेटिए, सुरुङभित्र खोजी जारी
रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा भने सुरुङभित्रबाट दुई शव फेला परिसकेका छन् । नेपाली सेनाका अनुसार २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ । अर्को सेगमेन्टमा समेत प्रवेश गर्ने तयारी भइरहेको छ ।
आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार फेला परेका दुई शव सुरुङभित्रैबाट निकालिएको हो । उद्धार टोलीले सुरुङभित्र थप व्यक्ति वा उनीहरूका अवस्थाबारे जानकारी लिन विभिन्न क्यामरा तथा उपकरण प्रयोग गरिरहेको छ ।
भट्टराईका अनुसार बाढीले पुर्याएको क्षतिको प्रकृति सामान्य बाढीभन्दा निकै फरक र भयावह छ । सुरुङभित्रको संरचना, पानीको बहाव र ढुंगा–माटोको प्रभावका कारण खोजी अत्यन्त जोखिमपूर्ण बनेको उनको भनाइ छ ।
लाङटाङ आयोजनाका अधिकारीहरूले यस घटनालाई भविष्यका जलविद्युत् आयोजना तथा विपद् व्यवस्थापनका लागि ठूलो पाठका रूपमा लिनुपर्ने बताएका छन् ।
आयोजना अधिकारीका अनुसार यसपटकको बाढीले कतिपय भूमिगत संरचनासमेत सुरक्षित नरहेको देखाएको छ । त्यसैले आगामी दिनमा जलविद्युत् आयोजनाको डिजाइन, जोखिम मूल्यांकन र आपत्कालीन उद्धार प्रणालीमा पुनर्विचार आवश्यक देखिएको छ ।
