नेपाली दूतावास पुगेर भारतका रक्षामन्त्रीले भने- सुख दुःखको साथी हौं, उद्धारमा सघाउँछौं
1 min read

नेपाली दूतावास पुगेर भारतका रक्षामन्त्रीले भने- सुख दुःखको साथी हौं, उद्धारमा सघाउँछौं

१५ भदौ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।

भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिका कारण नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै सिंहले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

नेपाल र भारतबीच रहेको लामो समयदेखिको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैं नेपालको सुख-दुःखमा साथ दिने मित्र रहेको बताएका छन्। ‘एक निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिएको छ,’ उनले भनेका छन्, ‘यस कठिन परिस्थितिमा पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं। नेपालको खोज, उद्धार र पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *