दिव्य देव अभिनीत ‘बा : एक योद्धा’ अब नयाँ मितिमा प्रदर्शन हुने
1 min read

दिव्य देव अभिनीत ‘बा : एक योद्धा’ अब नयाँ मितिमा प्रदर्शन हुने

१५ भदौ, काठमाडौं । रसुवा बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै दिव्य देव मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति स्थगित गरिएको छ। यसअघि भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो। निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्टले फिल्मको नयाँ प्रदर्शन मिति मंसिर २४ गतेका लागि तय गरिएको जानकारी दिएको छ। पछिल्लो समय बाढी तथा विपद्का कारण प्रभावित नागरिकको जनजीवन प्रभावित भइरहेकाले यस्तो अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम तथा फिल्म प्रदर्शनभन्दा राहत र उद्धारका कामलाई प्राथमिकता दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रदर्शन सारिएको जनाइएको छ।

फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै निर्माण पक्षले दर्शक तथा शुभेच्छुकलाई नयाँ रिलिज मितिसम्म धैर्य गर्न आग्रह गरेको छ। निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शनका लागि आवश्यक तयारी भने निरन्तर अघि बढाइनेछ। यसैबीच, ‘बा : एक योद्धा’ फिल्म परिवारले विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको जनाएको छ। फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णयसँगै निर्माण पक्षले विपद्को समयमा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको बताएको छ।

‘बा : एक योद्धा’मा दिव्य देव मुख्य भूमिकामा छन्। फिल्मको कथा, कलाकार तथा निर्माण पक्षले यसअघि नै दर्शकमाझ चासो सिर्जना गरिसकेको छ। अब दर्शकले फिल्मलाई भदौ १९ को सट्टा मंसिर २४ गतेदेखि देशभरका हलमा हेर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *