कामत र अवस्थीको निर्देशनमा ‘नीलो सिन्दुर’ मञ्चन हुने
काठमाडौं । मैथिली नाटककार तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् ‘एक पुरिया’मा आधारित नेपाली नाटक ‘नीलो सिन्दुर’ मञ्चनको तयारी भइरहेको छ। धीरेन्द्र प्रेमर्षीले नेपाली भाषामा अनुवाद गरेको उक्त नाटकलाई पुनःसंरचना गरी मञ्चन गर्न लागिएको हो। रङ्गसूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षणको संयुक्त पहलमा तयार पारिएको नाटक भदौ १९ गतेदेखि असोज ४ गतेसम्म काठमाडौंस्थित मण्डला थिएटरमा प्रदर्शन हुनेछ।
रामभजन कामत र पुष्पराज अवस्थीको संयुक्त निर्देशनमा तयार भएको ‘नीलो सिन्दुर’ यसअघि दिल्लीमा आयोजित मलंगिया महोत्सवमा समेत मञ्चन भइसकेको छ। नाटकले गरिबी, बेरोजगारी, असहाय अवस्था तथा स्वास्थ्य सेवाको पहुँचको अभावबाट उत्पन्न हुने मानवीय संकटलाई मुख्य विषय बनाएको छ। न्याय, मानव गरिमा र राज्यको दायित्वबीच देखिने नैतिक द्वन्द्वलाई कथामार्फत प्रस्तुत गरिएको छ। ‘नीलो सिन्दुर’ एउटा परिवारले भोग्नुपरेको दुःख र संकटमा मात्र सीमित छैन। यसले सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकार तथा समाज र राज्यको जिम्मेवारीबारे समेत समकालीन दृष्टिकोणबाट प्रश्न उठाउने प्रयास गरेको छ।
नाटकमा प्रभाकर शर्मा, दीपक प्रसाद आचार्य, पुष्पराज अवस्थी, रुपेश मण्डल, रिना रिमाल, वीरेन्द्रसिंह कुशवाहा, तृप्ति श्रेष्ठ, चन्द्रशेखर राय, उत्सव कार्की र राजीव यादवलगायत कलाकारले अभिनय गरेका छन्। नाटकको मञ्च तथा प्रकाश परिकल्पना झकेन्द्र बी.सी.ले गरेका छन् भने मञ्च निर्माणको जिम्मेवारी होम बी.सी.को रहेको छ। प्रकाश परिचालन प्रेम चन्द पाण्डेय, ध्वनि परिचालन श्रीकृष्ण शाही र संगीत सुनिल मल्लिकको रहेको छ।
त्यस्तै, मञ्च व्यवस्थापन सुरज घर्ती मगरले तथा बजार व्यवस्थापन सबिन न्यौपानेले सम्हालेका छन्।
