बाढीपीडितको साथमा दुगड परिवार, १ करोड १ लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुगड परिवारले १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। सेञ्चुरी ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगडले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। दुगड परिवारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद सहयोग गरेको छ भने थप ५० लाख रुपैयाँ बराबरका राहत सामग्री तथा खाद्यान्न प्रभावित क्षेत्रका लागि उपलब्ध गराएको जनाएको छ।
सहयोग हस्तान्तरणका क्रममा दुगडले प्राकृतिक विपत्तिको समयमा मानवीय सहयोग, सहकार्य र एकताको भावना सबैभन्दा महत्वपूर्ण हुने बताए। भोटेकोशी बाढीका कारण धेरै परिवारले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले सरकारसँगै निजी क्षेत्र, उद्योगी–व्यवसायी र सर्वसाधारणले पनि आफ्नो क्षमताअनुसार सहयोगमा जुट्नुपर्ने धारणा राखे। सेञ्चुरी ग्रुपले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल परिचालन गरिसकेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
दुगडले निकट भविष्यमा बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने र त्यहाँको आवश्यकता मूल्याङ्कनपछि थप मानवीय सहायता उपलब्ध गराउने योजना रहेको पनि बताएका छन्।
