रसुवागढी सुरुङमा कोही नभएको सरकारको दाबी, ड्युटीमा रहेका ३ जना अझै बेपत्ता
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीका क्रममा कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ। यद्यपि, बाढी आउँदा आयोजनाको भूमिगत विद्युत्गृहमा ड्युटीमा रहेका तीन कर्मचारी अझै सम्पर्कविहीन छन्। नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गरे पनि त्यहाँ मानवीय उपस्थिति फेला नपरेको दाबी गरिएको छ। खोजीका क्रममा कोही नभेटिएपछि उद्धारमा खटिएको टोली धुन्चे फर्किएको जनाइएको छ।
तर, भूमिगत विद्युत्गृहमा कार्यरत तीन कर्मचारीको अवस्था भने अहिलेसम्म अज्ञात छ। बाढी आउँदा उनीहरू ड्युटीमा रहेको र त्यसपछि सम्पर्कमा नआएको तथ्यले उनीहरू बाढीका बेला कहाँ पुगे भन्ने प्रश्न उब्जिएको छ। सुरुङभित्र मानिस नभेटिएको सेनाको दाबी र सोही समयमा भूमिगत विद्युत्गृहमा कार्यरत तीन कर्मचारी सम्पर्कविहीन रहेको अवस्थाबीच तालमेल नदेखिँदा उद्धार तथा खोजी प्रक्रियामाथि पनि प्रश्न उठेको छ।
आयोजनाका एक अधिकारीका अनुसार बाढी आएको समयमा भूमिगत विद्युत्गृहमा तीन कर्मचारी नियमित ड्युटीमा थिए। आयोजनाको प्लान्ट सञ्चालनमा रहेकाले कर्मचारीहरू निर्धारित सिफ्टअनुसार कार्यरत थिए। ‘टनेलभित्र तीन जना र बाहिरसमेत गरी जम्मा १४–१५ जना थिए होला,’ ती अधिकारीले भने। उनका अनुसार भूमिगत विद्युत्गृहमा रहेका कर्मचारीले प्लान्ट सञ्चालनसँग सम्बन्धित कामको निगरानी तथा व्यवस्थापन गर्ने गर्थे। आयोजनामा कर्मचारीलाई दुईवटा सिफ्टमा परिचालन गर्ने गरिएको थियो। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पहिलो सिफ्ट र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने गरेको अधिकारीले बताए।
‘प्लान्ट सञ्चालनमै थियो। नाइट सिफ्टका कर्मचारी बेलुका ७ बजे गएर बिहान ७ बजेसम्म त्यहाँ ड्युटी गर्थे,’ ती अधिकारीले भने।
